नमस्कार ! कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित शिक्षकहरूको क्षमता विकासका लागि तयार पारिएको छोटो अवधिको कस्टमाइज्ड तालिमको यस अनलाइन सत्रको मोड्युलमा हार्दिक स्वागत गर्दछौँ ।

नेपाल सरकारले शिक्षकको पेसागत विकासका लागि विभिन्न नीतिगत व्यवस्था गरेको छ । दिगो विकासको लक्ष्य नं. ४ मा उल्लिखित शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयनको राष्ट्रिय प्रारूप, राष्ट्रिय शिक्षा नीति २०७६, विद्यालय शिक्षा क्षेत्र योजना (२०७९/८०–२०८८/८९), शिक्षक पेसागत विकास प्रारूप २०७२ आदि शिक्षक तालिमसम्बन्धी विषयहरू उल्लेख भएका दस्ताबेजहरू हुन् । राष्ट्रिय शिक्षा नीति, २०७६ मा आमनेसामने, विद्यालयमा आधारित, मिश्रित, अनलाइन तथा भर्चुअल पद्धतिबाट तालिम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

शिक्षक पेसागत विकास प्रारूप, २०७२ (परिमार्जित संस्करण २०८०) ले शिक्षकहरूको कार्यदक्षतामा अभिवृद्धि गरी गुणस्तरीय शिक्षण सिकाइका माध्यमबाट विद्यार्थीको सिकाइमा बढोत्तरी ल्याउन उपयोगमा ल्याइएका शिक्षक पेसागत विकास कार्यक्रम, ढाँचा तथा मोड्युलहरू यस प्रकार रहेका छन्:

१. शिक्षकको निरन्तर पेसागत विकास कार्यक्रमहरू: कस्टोमाइज्ड  तालिम, कार्यशाला, सेमिनार, अवलोकन भ्रमण, प्रतिबिम्बन, शिक्षक नेटवर्क, सहकार्यात्मक रूपमा गरिने कार्यमूलक अनुसन्धान, मेन्टरिङ, कोचिङ ।

२. आमनेसामने (Face To Face), विद्यालयमा आधारित (School-based), मिश्रित (Blended), अनलाइन (Online) तथा भर्चुअल (Virtual) पद्धतिबाट तालिम ।

३. सातवटा प्रदेशस्तरीय शिक्षा तालिम केन्द्रहरूबाट सञ्चालित अनलाइन तथा अफलाइन विधिका एकमहिने प्रमाणीकरण शिक्षक तालिम, सेवा प्रवेश शिक्षक तालिम ।

४. आधारभूत र माध्यमिक तहमा अध्यापन गर्ने अनिवार्य विषय जस्तै: विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षकहरूको शिक्षण क्षमता विकास तालिम ।

५. स्थानीय तहले सञ्चालन गरेका शिक्षकको निरन्तर पेसागत विकासका कस्टमाइज्ड तालिम, कार्यशाला, सेमिनार, अवलोकन भ्रमण, प्रतिबिम्बन, शिक्षक नेटवर्क, सहकार्यात्मक रूपमा गरिने अनुसन्धान, मेन्टरिङ, कोचिङ जस्ता कार्यक्रमहरू ।

शिक्षकको पेसागत विकासको कस्टमाइज्ड तालिम एउटा विधि हो । यस विधिमा शिक्षकको आवश्यकताअनुसारको विषयमा पाँच दिनको तालिम प्रदान गरिन्छ । यस अनलाइन कस्टमाइज्ड तालिममा शिक्षक क्षमता विकासको पृष्ठभूमि तथा नीतिगत प्रावधान, एकीकृत शिक्षण सिकाइसम्बन्धी अनलाइन मोड्युल (प्याकेज) विकासको औचित्यबारे समेत जानकारी हुनेछ । साथै, पाठ्यक्रमका सक्षमताहरू, कार्यक्रमको उद्देश्य, तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, तालिम प्रस्तुतीकरण संरचना, विषयक्षेत्रगत प्रस्तुतीकरण, तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रमाणीकरण ढाँचाबारे पनि जानकारी पाउनु हुनेछ ।

धन्यवाद !