(ख) शैक्षणिक सामग्रीको सङ्कलन, छनोट, निर्माण र प्रयोग
(ख) शैक्षणिक सामग्रीको सङ्कलन, छनोट, निर्माण र प्रयोग
शिक्षक तथा विद्यार्थीहरूले शिक्षण सिकाइका लागि प्रयोग गर्ने सामग्रीहरू नै शैक्षणिक सामग्रीहरू हुन् । शैक्षिक सामग्रीहरूको प्रयोगबाट गणितका जटिल विषयवस्तुहरूलाई पनि सरल र सहज ढङ्गबाट बुझ्न सकिन्छ । आधारभूत तहको गणित शिक्षणका लागि शैक्षणिक सामग्री निर्माणमा भन्दा पनि विद्यार्थीको दैनिक जीवनमा प्रयोग भइ रहेका सामग्रीहरूको सङ्कलन तथा छनोटमा जोड दिनु पर्छ । यस्ता शैक्षणिक सामग्रीहरू स्थानीय रूपमा पाइने वस्तुहरू प्रयोग गरी कम मूल्यमा निर्माण गर्न सकिन्छ । यस प्रकार कम मूल्यका शिक्षक विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्रीहरूको प्रयोगबाट विद्यार्थीहरूको गणितप्रतिको नकारात्मक धारणा (गाह्रो, निरस) लाई परिवर्तन गरी गणित सिकाइप्रति उत्प्रेरणा जगाउन सहयोग पुग्दछ ।
शैक्षणिक सामग्रीको फाइदाहरू
- जटिल गणितीय धारणाहरू पनि सरल र सहज तरिकाबाट प्रष्टाउन सहयोग पुग्दछ ।
- गणित सिकाइलाई रोचक र चिरस्थायी बनाउन सहयोग पुग्दछ ।
- विद्यार्थीहरूलाई सिकाइप्रति उत्प्रेरणा जगाउँछ ।
- विद्यार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी बनाउन सहयोग गर्दछ ।
- सिकिसकेका धारणाहरूलाई प्रयोगमा ल्याउन र स्थानान्तरण गर्न सहयोग पुग्दछ ।
- विद्यार्थीहरूमा गणितप्रति सकारात्मक धारणा उत्पन्न गर्न सहयोग पुग्दछ ।
- गणित सिकाइको स्तर बढाउँछ, साथै ढिलो सिक्ने विद्यार्थीहरूलाई पनि ठुलो सहयोग पुर्याउँछ ।
आधारभूत तह कक्षा १-३ मा गणित विषयमा प्रयोग हुन सक्ने शैक्षणिक सामग्रीहरूमा गुच्चा, ढुङ्गा, पात, अन्नका दानाहरू, क्वीजनायर रड, टि.भि., फिल्म, स्लाइड, भिडियो, प्रोजेक्टर, कम्प्युटर, शैक्षणिक पाटी, फ्लीप बोर्ड, चार्ट, चित्रहरू, स्थानमान तालिका, बेस टेन ब्लक, एबाकस, टेनग्राम, पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षक निर्देशिकाहरू, स्वाध्याय सामग्री आदि पर्दछन् ।
गणित शिक्षणमा प्रयोग गरिने शैक्षणिक सामग्रीहरू छनोट गर्दा पाठको उद्देश्यसँग मेल खाने हुनुपर्दछ, उपयुक्त साइजको स्पष्ट र सफा हुनुपर्दछ । यसै गरी विद्यार्थीको रुचि, क्षमता र स्तरअनुसारको हुनपर्दछ । सकेसम्म स्वनिर्मित वा विद्यार्थीले नै बनाएको हुनुपर्दछ । सामग्री प्रयोग गर्नुपूर्व विद्यार्थीहरूले गर्नुपर्ने कार्यहरू, अपनाउनुपर्ने सावधानीहरूबारे प्रष्ट निर्देशन दिनुपर्दछ ।