शिक्षकलाई सिकाइ सहजीकरणमा सहयोग गर्ने उद्देश्यले विषयवस्तुहरू के–के पढाउने,  कसरी (कुन विधि प्रयोग गरी) पढाउने,  कुन–कुन पाठमा कुन–कुन शैक्षिक सामग्रीको प्रयोग गर्ने र विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने भन्ने कुराको विस्तृत विवरण भएको शिक्षक निर्देशन पुस्तिकालाई शिक्षक निर्देशिका भनिन्छ यसलाई शिक्षकको पथप्रदर्शक र स्वप्रशिक्षकको रुपमा लिइन्छ । यसलाई प्रभावकारी शिक्षण सिकाइको माध्यमबाट विद्यार्थीको उपलब्धिस्तरमा सुधार ल्याउन सहयोग गर्दछ 

कक्षा १-३ को गणित विषयको शिक्षक निर्देशिका पाठयोजनाको रूपमा तयार गरिएको छ । गणित विषयलाई पाठ्यक्रमले ४ पाठ्यघण्टा अथवा १२८ कार्यघण्टा दिएकोले शिक्षक निर्देशिकामा पनि १२८ ओटै पाठ योजना निर्माण गरिएको छ । पाठ योजनामा विद्यार्थी केन्द्रित क्रियाकलापहरूमा जोड दिइएको छ । परियोजना कार्यमा आधारित बनाइ विद्यार्थीहरूलाई पर्याप्त अभ्यासको अबसर दिइएको छ । अरू विषयसँगको एकिकरण हुने गरी क्रियाकलापहरु राख्ने प्रयास गरिएको छ । विद्यार्थीहरूलाई पर्याप्त उदाहरणहरू दिएर ज्ञान निर्माण गर्न सक्ने गरी आगमन विधिमा जोड दिइएको छ । नमुना चित्रण विधि, खोज विधि, परियोजना कार्य विधि, समस्यामा आधारित सिकाइ विधि लगायतका नवप्रवर्तनात्मक विधिहरूको प्रयोगमा जोड दिनु यस शिक्षक निर्देशिकाका मुख्य विशेषता हुन् ।