नमस्कार ! हाम्रो सेरोफेरो विषयको सत्रमा यहाँहरूलाई स्वागत छ ।

आधारभूत तहको कक्षा १–३ का लागि हाम्रो सेरोफेरो विषयको पाठ्यक्रममा विज्ञान तथा वातावरण, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कलाका विषयवस्तु समावेश गरिएका छन् । यी विषयवस्तुहरूलाई अन्तरविषयक (Interdisciplinary) ढाँचामा एकीकृत गरिएको छ । विषयवस्तुहरूलाई एकीकृत स्वरूपमा विभिन्न विषयक्षेत्र (Theme) मा सङ्गठित गरिएको छ । यसको मुख्य उद्देश्य विषयवस्तुलाई अन्तरसम्बन्धित र सान्दर्भिक बनाई सिकाइलाई विद्यार्थीको दैनिक जीवनसँग जोड्नु हो । हाम्रो सेरोफेरो विषयमा जम्मा १० ओटा  विषयक्षेत्रहरू छन् भने साप्ताहिक पाठ्यघण्टा ८ र वार्षिक कार्यघण्टा २५६ रहेको छ । ती १० ओटा  विषयक्षेत्रहरू (१) म र मेरो परिवार,(२) मेरो दैनिक जीवन, (३) हाम्रो समुदाय, (४) मेरो विद्यालय, (५) हाम्रा वरपरका सजीवहरू, (६) हाम्रो वातावरण, (७) मेरो सिर्जना, (८) हाम्रो संस्कृति,  (९) सञ्चार प्रविधि र बजार, (१०) हाम्रो वरपरको संसार हुन् । यीमध्ये केही  विषयक्षेत्र (थिम)हरू चारओटा विषयमा, केही तीन ओटा विषयमा, केही दुई ओटा विषयमा र केही विषयक्षेत्र (थिम)हरू हाम्रो सेरोफेरो विषयमा मात्र रहेका छन् ।

आधारभूत तह (कक्षा १—३) को पाठ्यक्रम (एकीकृत पाठ्यक्रम) २०७६ अनुसार नेपाली, अङ्ग्रेजी, गणित र हाम्रो सेरोफेरो विषयका साझा विषयक्षेत्रहरूमध्ये म र मेरो परिवार, मेरो दैनिक जीवन, मेरो विद्यालय, सञ्चार प्रविधि र बजार साझा विषयक्षेत्र हुन् ।

चारओटा विषयका साझा विषय क्षेत्रहरू तीनओटा विषयका साझा विषय क्षेत्रहरू दुईओटा विषयका साझा विषय क्षेत्रहरू एउटा विषयमा मात्र रहेका विषय क्षेत्रहरू

१. म र मेरो परिवार

२. मेरो दैनिक जीवन

३. मेरो विद्यालय

४. सञ्चार प्रविधि र बजार

१. हाम्रो समुदाय (नेपाली, गणित र हाम्रो सेरोफेरो)

२. हाम्रो वातावरण (नेपाली, अङ्ग्रेजी र हाम्रो सेरोफेरो)

३. हाम्रो संस्कृति (नेपाली, अङ्ग्रेजी र हाम्रो सेरोफेरो)

४. मेरो सिर्जना (नेपाली, गणित र हाम्रो सेरोफेरो)

१. रुचि र बानी (नेपाली र अङ्ग्रेजी)

२. हाम्रो वरपरको संसार (नेपाली र हाम्रो सेरोफेरो)

१. हाम्रा वरपरका सजीवहरू (हाम्रो सेरोफेरो विषय)

२. मेरो सरसामान (अङ्ग्रेजी विषय)

३. सङ्ख्याको ज्ञान (गणित विषय)

४. गणितको आधारभूत क्रिया (गणित विषय)

५. नाप र क्षेत्रफल (गणित विषय)

६. चरा र जनावर (अङ्ग्रेजी विषय)

७. हाम्रा क्रियाकलाप (नेपाली विषय)

८. फलफूल र तरकारी (अङ्ग्रेजी विषय)

९. वर्ण (अङ्ग्रेजी विषय)

यस सत्रमा हाम्रो सेरोफेरो विषयको सक्षमता र सिकाइ उपलब्धिको सामान्य जानकारीका साथै, सञ्चार, प्रविधि र बजार विषयक्षेत्र अन्तर्गत कक्षा तीनको 'मितव्ययी बनौँ' विषयवस्तु (पाठ) लाई एकीकृत रूपमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रस्तुति खाका तयार गरिएको छ ।

प्रस्तुत खाकामा विभिन्न क्रियाकलापहरूलाई टेक्स्ट, भिडियो, अडियो भिडियो, वास्तविक कक्षाको दृश्य, एनिमेटेड भिडियो, चित्र, गीत, अभ्यास, प्रेरणादायी अनुभव आदि प्रयोग गरिएका छन् । यो सत्रको सहजीकरण सामग्रीले एकीकृत पाठ्यक्रमको मर्मअनुरूप सिकाइ सहजीकरण गर्न स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

यस सत्रको समाप्तिपछि सहभागी शिक्षकहरूले निम्नलिखित उद्देश्य हासिल गर्न सक्षम हुनुहुनेछ 

  • हाम्रो सेरोफेरो विषयको अन्तरविषयक एकीकृत ढाँचा (Interdisciplinary Model), सिकाइ सक्षमता र सिकाइ उपलब्धिसँग परिचित हुन,

  • सञ्चार, प्रविधि र बजार विषयक्षेत्रअन्तर्गत अन्य विषयका सान्दर्भिक सिकाइ उपलब्धि पहिचान गर्न,

  • एउटै विषयवस्तुलाई अन्तरविषयक र बहुविषयक (नेपाली, अङ्ग्रेजी र गणित) का सिकाइ उपलब्धिसँग संयोजन गरी सहजीकरण अभ्यास गर्न,

  • बालबालिकाको पूर्वज्ञान र अनुभवलाई समेत विषयवस्तुसँग जोडी व्यवहारकुशल सीप विकास गराउने तरिका अभ्यास गर्न,

  • सिकाइको स्वमूल्याङ्कन गर्न ।