मूल्याङ्कन विधि र प्रक्रिया
मूल्याङ्कन विधि र प्रक्रिया
-
कक्षा १–३ का प्रत्येक विद्यार्थीको कार्यसञ्चयिका (Portfolio) व्यवस्थित गरी राखिनुपर्छ। कार्यसञ्चयिका फाइललाई विद्यार्थीको कक्षाकार्य, परियोजना कार्य, उपलब्धि परीक्षा, विद्यार्थीमा आएको व्यावहारिक परिवर्तनको अवलोकन, हाजिरी आदिका माध्यमले अद्यावधिक गर्नुपर्नेछ। विद्यालयमा पठनपाठन भएका विषयवस्तु र विद्यार्थीको उपलब्धिको बारेमा प्रत्येक महिना वा निश्चित विषयवस्तु वा विषयक्षेत्रको अध्ययन पूरा गरेपछि अभिभावकलाई जानकारी पठाउने व्यवस्था गरी कार्यसञ्चयिकामा त्यसको अभिलेख उल्लेख गर्नुपर्नेछ।
-
विद्यार्थीको सिकाइको मूल्याङ्कनमा विषयगत सिकाइ क्षेत्रमा अपेक्षित ज्ञान, बुझाइ, प्रयोग तथा आवश्यकतानुसार विश्लेषण, मूल्याङ्कन र सिर्जनालगायतका उच्च क्षमता परीक्षण गर्नका लागि उपयुक्त साधन तथा प्रक्रिया प्रयोग गर्नुपर्नेछ।
-
मूल्याङ्कनका क्रममा आवश्यक व्यवहारकुशल सीप प्राप्तिमा विद्यार्थीको हासिल गरेका सक्षमताको पनि लेखाजोखा गरी आवश्यकतानुसार सुधारात्मक शिक्षण सिकाइको प्रक्रियाअनुरूप विद्यार्थीको सिकाइ सुधार गरी अपेक्षित सिकाइ सुनिश्चित गर्नुपर्नेछ। पटक–पटकको सुधारात्मक शिक्षण सिकाइ प्रक्रियाबाट पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको उपचारात्मक शिक्षणको प्रबन्ध गर्नुपर्नेछ।
-
चारवटा विषयक्षेत्र नेपाली भाषा, गणित, हाम्रो सेरोफेरो र अङ्ग्रेजी भाषामा विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरिने विधि, प्रक्रिया तथा साधनहरू पहिचान गरी निर्देशित गरिएको छ।