परिचय
परिचय
आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम, २०७६ अनुसार कक्षाकोठामा आधारित मूल्याङ्कनका लागि विभिन्न किसिमका साधनहरू प्रयोग गरेर विद्यार्थीको सिकाइको निरन्तर लेखाजोखा गरी शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा अभ्यास गरी सिकाइ सुधारमा उपयोग गरिन्छ। कक्षाकोठामा आधारित यस्तो मूल्याङ्कनको अभिलेखलाई सञ्चित गरी आवश्यकतानुसार सिकाइको मूल्याङ्कनका रूपमा अर्थात् विद्यार्थीको सिकाइ स्तर पहिचान गर्ने प्रयोजनमा पनि प्रयोग गर्न सकिने हुन्छ। यसरी निर्माणात्मक उद्देश्यले गरिने कक्षाकोठामा आधारित मूल्याङ्कनको अभिलेखलाई निर्णयात्मक प्रयोजनमा पनि प्रयोग गर्न सकिने भएकाले यस्तो मूल्याङ्कन पद्धतिलाई निरन्तर मूल्याङ्कन पद्धति (CAS) पनि भन्ने गरिन्छ।
आधारभूत तहको कक्षा १–३ मा गरिने विद्यार्थी मूल्याङ्कनको मुख्य उद्देश्य सिकाइ सुधार गर्ने निर्माणात्मक हुने भए तापनि आवश्यकतानुसार यसको अभिलेख व्यवस्थित गरी समग्र सिकाइ स्तर निर्धारण गर्ने प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ। आधारभूत तहको कक्षा १–३ को एकीकृत संरचनाको पाठ्यक्रमअनुसार चारवटा विषयक्षेत्र (नेपाली भाषा, गणित, हाम्रो सेरोफेरो र अङ्ग्रेजी भाषा) मा विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरिने विधि, प्रक्रिया तथा साधनहरू पहिचान गरिनेछ। त्यसै गरी यस मार्गदर्शनमा अपेक्षित सिकाइ उपलब्धिमा विद्यार्थीको सिकाइ स्तरको मूल्याङ्कन तथा सुधारात्मक सिकाइको अभिलेखीकरण गर्ने तरिका र अभिलेखीकरण साधनसमेत समावेश गरिएको छ। यसैका आधारमा मातृभाषा तथा स्थानीय पाठ्यक्रममा विद्यार्थीको मूल्याङ्कनका लागि आवश्यक साधन तथा प्रक्रिया विकास गरी अभिलेखीकरण गर्न सकिने हुन्छ।
कक्षा १–३ मा गरिने विद्यार्थी मूल्याङ्कनलाई सिकाइ प्रक्रियाकै अभिन्न अङ्गका रूपमा प्रयोग गर्नुपर्दछ। यस्तो मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धि तथा कमजोरीहरूको निरन्तर लेखाजोखा गरी सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्नु हो। यस्तो पृष्ठपोषण दुई चरणमा हुन सक्दछ । पहिलो चरण शिक्षण सिकाइको क्रममा वा निश्चित विषयवस्तु सिकाइपश्चात् गरिएको मूल्याङ्कनमा अपेक्षित उपलब्धि प्राप्त गर्न नसकेका विद्यार्थीको कठिनाइको क्षेत्र पत्ता लगाई सुधारात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्नु र दोस्रो चरणमा पटकपटकका सुधारात्मक सिकाइ क्रियाकलापबाट पनि सिकाइ सुधार हुन नसकेका विद्यार्थीहरूका लागि उपचारात्मक सिकाइ क्रियाकलाप तर्जुमा गरी सिकाइमा सुधार गर्नुपर्दछ।कक्षाकोठामा आधारित निर्माणात्मक मूल्याङ्कनले प्रत्येक विद्यार्थीलाई न्यूनतम सिकाइ स्तर प्राप्त गर्ने सुनिश्चितता गरी माथिल्लो सिकाइ स्तर प्राप्त गर्न सहयोग गर्नुपर्दछ।