सत्र परिचय
सत्र परिचय
एकीकृत पाठ्यक्रमको मूल मर्म विभिन्न विषयका विषयवस्तुलाई थिममा आधारित भई एकीकृत सिकाइको अवसर प्रदान गर्नु हो । कक्षा १ मा ६ ओटा, कक्षा २ मा ८ ओटा र कक्षा ३ मा ७ ओटा थिमहरू रहेका छन् । यीमध्ये सङ्ख्याको ज्ञान, गणितका आधारभूत क्रिया र नाप, गणित विषयका एकल थिम हुन् भने अन्य थिमहरू अरू विषयसँगका साझा थिम रहेका छन् । केही साझा थिमहरू सबै विषयका साझा हुन् भने केही दुई वा तीन विषयका साझा रहेका छन् । जस्तै: कक्षा २ मा 'म र मेरो परिवार', 'मेरो दैनिक जीवन', 'मेरो विद्यालय' र 'सञ्चार प्रविधि र बजार' सबै विषयका साझा थिम हुन् भने 'हाम्रो समुदाय' नेपाली, गणित र मेरो सेरोफेरोको मात्र साझा थिम हो । थिम भनेको सिकाइको विषयक्षेत्र हो ।
यस सत्रमा गणितीय विषयवस्तु शिक्षण गर्ने तौरतरिका र गणित शिक्षणका क्रममा साझा थिममा रहेका अन्य विषयलाई अन्तरसम्बन्धित गराई शिक्षण गर्ने रणनीतिहरू प्रस्तुत गरिएको छ । यसबाट शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई अन्य विषयसँग अन्तरसम्बन्धित गराई सहज र सरल तरिकाले गणित शिक्षण गर्ने सीप प्राप्त हुने अपेक्षा गरिएको छ । कक्षाकोठामा आधारित मूल्याङ्कनमा जोड दिँदै विद्यार्थी मूल्याङ्कनपश्चात् सिकाइ सुधारका लागि गरिने क्रियाकलापहरू यस सत्रमा राखिएको छ । यसैगरी पाठ्य तथा कार्यपुस्तकमा प्रयोग गरिएको रङ, यसको अर्थ र महत्त्व तथा सिकाइ सिँढीको प्रयोगसम्बन्धी विषयवस्तु समेटिएको छ । विषयवस्तुलाई श्रव्य, श्रव्यदृश्य, दृश्य र लेख्य सामग्रीको माध्यमबाट प्रस्तुत गरिएको छ । यस सत्रको समाप्तिसँगै शिक्षकहरूमा विषयको स्पष्ट बुझाइसँगै कक्षाकोठामा प्रभावकारी कार्यान्वयनको अपेक्षा गरिएको छ ।